Saturday, 2 March 2019

शब्दहरूमा केही...

कहिले कहिले, यसरी सोचेर मात्र पनि नहुने वा नसोचूँ, केइ पनि नसोचूँ, त्यसो पनि नहुने । बडा खल्लो माने खल्लो भइजाने, र रोमाञ्चक माने अनेकौँ कथाहरू आफैँ भइआउला झैँ गर्ने । यहाँ सुत्र छैन । यहाँ मगज छ । सोचको अनेकौँ नदीहरू बगाउँछ । म त्यहाँ डुङ्गामा तैरिन्छु, पौडन्छु र डुब्छु । आजकल कसो कसो नमज्जा छ । यी नमज्जामा अन्धकार आउँछ । म छामछुम गर्दै हिडिँरहन्छु । खै! कहाँ छ रोशनी? दिमाग आजकल बडो नमिठो सोच्छ ।

घाम र चन्द्र पछ्याइरहेका दिन र रातहरू पनि यसै बित्दै छन् । म बाहिर हेर्छु । सडकमा चर्का चर्की आवाज मात्र छन् । मानिसहरू छन् । आवाजहरू छन् । बाटाहरू मृत छन् । कता पो जाऊँ? कता पो हेरूँ? फिक्का निला आकाशमा म केही देख्दिँन । बादल लाग्दछ । आकाशको रङ उडेको पाउँछु । बादल नलागोस् । आकाशको महत्त्व हराउँछ । बाटाबाट आवाजहरू नसूनँ । कति दिक्दार लाग्छ । बाटाका आवाजहरू कानमा ठोक्किउन् । पुन: वाक्क लाग्छ । हावा छन् वा हावा छ । म सास फेर्छु । सास फेरिएको छ । भित्ता हेर्छु । झ्यालका पर्दाहरू वस्त्र हुन् मेरा । म प्युपा माने प्युपा! म अझै अन्डा माने अन्डा! म मृत बाकसमा मृत लास? होइन, उठेर म पर्दा खोल्छु कोठाका । उही आकाश छ । उही नै छ आकाश ।

आजकल बिहान उठ्नु र नउठ्नु को प्राय अर्थ पनि त देख्दिँन नि म । छिटो उठूँ, काम केही छैन । ढिला सम्म सुतूँ त घामले जिस्काउँछन् । सुन्तला रङका वास्नादार घामका किरण जब आँखामा पानी छ्याप्छन् । म जाग्छु र पुन: पल्टन्छु बिस्तारामा । भगेँराहरूको चिरचिर चुर चुर को आवाजहरू आजकल सुन्दिँन । तीनले गिज्याउनु र नगिज्याउनुसँग मेरो सुताइको कुनै मिलन छैन । प्रत्येक दिन मनमा एउटा ठुलो चित्कार जागी उठ्छ, "अब के गर्ने? के गर्ने? कता जाने?" अनेकौँ कायर शब्दका उपाधीहरू दिएर आफैँलाई गिज्याउँछु र फेरी आफैँलाई बडा बौद्धिक, टाँठो बाठो मान्छेको तक्मा भिराइहाल्छु । आश्चर्य छ यसकारण, कि म छु र म मेरा लागि सुन्छु । म आफैँलाई पढाउँछु र यहाँ कुनै गुरूहरू भेटिन्न् । कुनै जानुपर्ने कक्षाकोठा छैन । र, यी दिनहरू बढी अल्छि लाग्दा मात्र म भन्न सक्दिँन । मनमा अनेकन अनेकन विषयहरू सम्झाउन बुझाउन बताउन आए झैँ लाग्छ । आजकल यस्सै छु । होइन, म मृत होइन ।

एकपटक वडो कल्पिएर सोच्छु । यो जिन्दगी गोलभेँडा हो । गोलभेडैँ हो । पिचिक्क, थिचिक्क थिच्दा त्यो मर्यो कि जिवित भयो, वा पुन: त्यसले नव जीवन पायो । जिन्दगी गोलभेँडा हो भने बारबार फुटूँ र संवाद लिएर जिब्रोमा सजिऊँ । है? होइन! जिन्दगी गोलभेँडा हुनै सक्दैन । यो केही जस्तो पनि छैन । छैन, केही जस्तो पनि छैन । होस् जे भए पनि होस् । यो गोलभेँडा भए पनि होस्, आलु भए पनि होस् । जे होस्, होस् । घाम सँगै उठ्ने र घाम अस्ताए सँगैँ अस्ताउने, यही दिनहरू नै त होलान् नी जिन्दगी भनेका । बढी शब्द के के मात्र लेख्नु नलेख्नू? घाम अस्ताए सँगै एउटा दिन सक्कियो र बिलायो निलो आकाश, जिन्दगीको एक दिन! यसरी नै...

घाम डुब्नै लाग्दा आकाशमा चराहरूका उडान हेर्नुपर्छ । छतबाट मै पनि जब बिदाइ गर्न लाग्छु, आकाश रोए झैँ गर्दो हो? एउटा दिन बित्यो । म पारी तिर बाट चोयाइरहेको कालो रङले छोपिएको पाउँछु । र खोज्छु, आफैँलाई... सकियो, आजलाई सकियो । भोली फेरी यसरी नै अर्को घाम डुब्नेछ...

कहिलेकाहीँ यस्सै सोचिरहन्छु । नसोचिकन बस्दा पनि ठीक छ । सोचूँ केही छ, केही पनि छैन । केही छैन भमेर सोच्छु फेरी मनका अनेक तरङ्ग । आजकल के के सोच्दछु । दार्शनिक बनेर सोच्न मन लाग्छ । मैले सोचेँ जतिको प्रयास गर्छु । मगज हुर्किएको हो कि?

खानेपानीमा ९७ प्रतिशत नेपालीको पहुँच

स्वच्छ र गुणस्तरीय खानेपानीमा मुलुकको २७ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । त्यसै गरी आधारभूत खानेपानीमा भने ९७ प्रतिशत नेपालीको पहुँच पुग...