नुन - खाना लाई स्वाद र जीवन दिने कारक तत्व; नभई नहुने, तर बढी भए फेरी त्यत्तिकै बेफाइदा पनि। जीवनको सन्तुलन नै यी साना साना कुराको व्यवस्थापन बाट नै सहज हुने गरिनुपर्ने कुरा बाट म छर्लङ्गि सकेको छु। यद्यपि धेरै कुरा पालना गर्नै पनि कठिन, जटिल र समयावस्थानुसार झन्झन्टिलो हुने पनि गर्दछन्। यी र अन्य कुरा सुल्झाउने स्वयं मस्तिष्क भएको हुनाले, दिमागको अवस्थालाई बढी महत्व दिइनु पर्छ। बुझौँ त, सारा अध्यात्मिक जगत्को सार चेतना, र जीवन सुत्र पनि यही मन र मस्तिष्कको सफापन, स्वच्छपन र स्फुर्तपनमै आधारित छ।
जब मन र मस्तिष्क आफैँमा सफा, कोमल र हितदायी छन्। अनि दागरहित र चेतनशील छन् - शरीर जाबो त आफैँ स्वस्थ र निश्चल बन्छ। किनकी जब मस्तिष्क आफैँ अग्रसर भई आफ्नो हितमा सोच्न असक्षम रहन्छ तब उसले आफ्नै भलो पनि गर्न सक्दैन। र समाजसेवा र पराईहितको सोच कसरी राख्न सक्छ?
यस शीर्षकउपर चर्चा गर्दा नुनचिनी लाई म शरीरको विषादीको उपमा दिन्छु। यी एकदम रसायन नै हुन्। भौतिक जगतमा रसायनको उचित मुल्य र आवश्यकता छ। र शरीरको इन्जिन चलाउन, धड्कनको स्पन्दन कायम राख्न र कोषिकामा जलगत प्रकिया कायम राख्न यी नुनचिनीकै भुमिका रहन्छ। तर, जसरी रसायनिक मलले माटि बिगार्छ र फलामका मसिनरी खिइन्छ - शरीरमा पनि भिन्नता छैन। भलै आत्मा आफैँ यो जगत् बाहिरका कुरा हुन् तर शरीर त यही पञ्चतत्वकै बनोट हो। त्यसकारण मलाई लाग्छ कि नुनचिनीको सेवन अस्वस्थकर नै छ।
अझ चिनीले त दिमागमा लतको झैँ काम गर्न सक्दछ। चिनी त हामीले अन्न बाटै पाइरहेका छौँ। थप चिनी सेवनले शरीरमा शरीरलाई ढिलो र स्फुर्त बन्नै दिदैँन। नजानी यो शरिरमा गएर थेग्रिन्छ। कुरा चिनीकै मात्र भएन, तेल, चिल्लो, पिरो, तितो, प्याच, लसुन यी सबै रसायनलाई कम भन्दा कम नै सेवन गर्नैपर्छ।
अर्को विषयउपर सोच्दा यो भजन, स्लोक, संस्कृतका स्तोत्र ठन्डा वायु जस्ता हुन्, वातानुकुली यत्रमा दिमागलाई विश्राम दिए जस्तै। यस्ता सुसज्जित संस्कृतका स्तोत्रले एकछिन द्रुत गतिमा हिडेँका सवारीलाई ट्राफिकले रोके जस्तोको काम गर्छ। एकछिन त पर्ख, विस्तारै त हिँड। र बारम्बर संस्कृतका स्तोत्र, मंत्र दोहोर्याउनाले मनमा आनन्द र शीतलता ल्याउँछ। शरीर, मस्तिष्क र मनलाई स्थिर गराउँछ, र एकै बिन्दुमा ल्याउन मदत गर्दछ र वर्तमानमै बाँच्न लगाउँछ। धन्य हुन् ती हजारौँ र हजारौँ वर्षका ती तपस्वी र ज्ञानीहरू र तिनका ज्ञानलाई संरक्षण गर्नेहरू, आज हामी ती स्तोत्रहरू पढ्न र सुन्न पाउँछौँ।
सारंशमा रसायनलाई कम प्रवेश गराऔँ जति सकिन्छ। र दिमागलाई शान्त राख्ने प्रयास गरौँ। सुन्दा सजिलै लागेपनि यी कम सजिलो छैन। म त प्रयासरत छु, त्यसैले नुन-चिनी कम खाने भएँ, भजन सुन्ने भएँ।
No comments:
Post a Comment